भक्तपुरको सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा ५० शैय्याको नगर अस्पताल निमार्ण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
कोरानाका बिरामीको उपचार गर्नका लागि सूर्यविनायक नगरपालिकाले अस्पताल निमार्ण कार्य तिव्र पारेको हो।
निमार्णको अन्तिम चरणमा रहेको अस्पताल ५० शैय्याको हुने सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जानकारी दिए।
जेठ १० गते सेवा सञ्चालनमा ल्याउने तयारी साथ अहिले दिनरात काम भईरहेको थापाले बताए।
थापाका अनुसार निमार्णाधिन नगर अस्पतालमा आईसीयू, एचडियूसहित भेन्टिलेटरको सुविधा रहनेछ। ‘अहिले सूर्यविनायक नगरपालिकासहित मुलुकभर कोरान संक्रमित बढ्दो क्रममा रहेकाले यसलाई मध्यनजर गर्दै हामीले जतिसक्यो त्यति चाँडो अस्पताल सञ्चालनमा ल्याउने सोच बनाएका हौं’, उनले भने।
निर्माणको अन्तिम चरणमा रहेको नगर अस्पताल २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। ५ करोड रूपैयाँ लागतमा निमार्ण हुन लागेको अस्पतालका लागि सांसद महेश बस्नेतले संसदीय विकास कोष र नगरपालिकाको बाँकी खर्चको व्यवस्था गरेको संयोजक थापाले बताए।
हेर्नुहोस् भिडिओमा