कास्की प्रहरीले विभिन्न व्यक्ति तथा कम्पनीसँग रहेको १८७ थान अक्सिजन सिलिण्टर संकलन गरी उत्पादक कम्पनीलाई हस्तान्तरण गरेको छ।
पोखरामा रहेका ग्रील उद्योगदेखि जलविद्युत आयोजनासम्मका सिलिण्डर संकलन गरेर अक्सिजन उत्पादक कम्पनीलाई प्रदान गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।
कोराना भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिन सिलिण्डर संकलन गरेको डिएसपी हमालले बताए।
संकलित सिलिण्डर पोखरामा अक्सिजन उत्पादन गर्दै आइरहेको पोखरा अक्सिजन प्रा.लि. र कालीगण्डकी अक्सिजन प्रा.लि.लाई प्रहरीले सिलिण्डर दिएको हो।
संकलित सिलिण्डर सोही कम्पनीको रहेको समेत प्रहरीले जनाएको छ। विभिन्न कम्पनी र व्यक्तीका सिलिण्डर संकलन गर्दा पछि फिर्ता दिने गरी भपाई गरेको डिएसपी हमालले बताए।
‘अहिले तपाईंहरूलाई आवश्यक नभएको बेला सिलिण्डर दिनुस्, हामी पछि फिर्ता गरिदिन्छौं भनेर भपाई गरेका छौं,’ डिएसपी हमालले भने, ‘महामारीका बेला तेरोमेरो नभनी सिलिण्डर संकलन गरेका हौं।’
यसअघि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी घर र कम्पनीमा रहेका अक्सिजन सिलिण्डर कम्पनीलाई फिर्ता दिन निर्देशन दिएको थियो।
सोही निर्देशन अनुसार केही व्यक्तीले सिलिण्डर कम्पनीलाई फिर्ता दिएको समेत डिएसपी हमालले बताए।
यता कपिलवस्तु प्रहरीले पनि ७३ थान सिलिण्डर संकलन गरी कपिलवस्तुका मेयरलाई हस्तान्तरण गरेको छ।