कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ।
स्वास्थ्यमा सुधार आएसँगै उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको उपचारमा संलग्न नर्भिक इन्टरनेसनल अस्पतालका डा. जेपी जैसवालले सेतोपाटीलाई बताए।
पूर्वरानी कोमल कोरोना संक्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन्।
उनलाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरिएको थियो। आइसियूमा रहँदा कोमललाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो।
‘साधारण बेडमा सारिएपछि उहाँलाई प्रतिमिनेट पाँच लिटर अक्सिजन दिइरहेका छौं, अब उहाँ खतरामुक्त हुनुहुन्छ,’ जैसवालले भने।
आइसियूमा राखिएपछि कोमललाई प्लाज्मा थेरापीद्वारा उपचार गरिएको थियो।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो।
पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए।
पूर्वराजा र पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्य सामान्य छ।