ललितपुरका एम्बुलेन्समा वैशाख मसान्त सम्ममा जिपिएस ट्र्याकिङ सिस्टम जडान गरिने भएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको अध्यक्षतामा बसेको बैठकले वैशाख मसान्तसम्ममा एम्बुलेन्सहरूमा जिपिएस ट्र्याकिङ सिस्टम राख्ने निर्णय गरेको हो।
रेडक्रस सोसाइटी ललितपुर शाखासँग समन्वय गरेर एम्बुलेन्समा तत्कालै जिपिएस जडान गर्न लगाउने बैठकले निर्णय गरेको हो। त्यस्तै, अनुगमन गरी जिपिएस नभएको पाइए कारबाही समेत गर्ने चेतावनी दिएको छ।
प्रशासनले बैठकबारे जारी गरेको निर्णयहरू अनुसार सञ्चालनमा समेत रोक लगाउने चेतावनी दिएको हो।
ललितपुरमा सञ्चालन हुने सबै एम्बुलेन्सको परिचालन प्रभावकारी बनाउन १०२ हटलाइनमा आवद्ध गर्न लगाउने निर्णय गरिएको छ। सबै एम्बुलेन्स सेवाहरू निशुल्क हुने र कोभिडका संक्रमित बोकेको शुल्क बिरामी रहेको पालिकाले नै व्यहोर्नुपर्नेछ।
यसबारेमा थप निर्णय पालिकाका प्रमुखहरूसँग बसेर गरिने प्रशासन कार्यालयले जनाएको छ।