उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पौने १० बजे कटारी नगरपालिका-११ हर्देनीस्थित भीरबाट लडेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ओखलढुंगातर्फ जाँदै गरेको ना १ ज ३३७० नम्बरको गाडी बीच बाटाेमै बिग्रिएको थियो।
गाडी बिग्रिएपछि धरान उपमहानगरपालिका-५ का १८ वर्षीय सुभास परियार भीर तिर गएका थिए। सोहीक्रममा उनी लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय उपदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
घाइते भएका सुभासलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको डिएसपी गौतमले बताए।
यस घटनासम्बन्धी प्रहरीले उनीसँग गाडीमा सवार भएका अन्य १० जनालाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिरहेको छ। मृतकका अभिभावकहरू पनि धरानबाट उदयपुर आउँदै गरेको डिएसपी गौतमले बताए।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।