पर्वतमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
शुक्रबार बिहान ८-९ बजे मलामी जानका लागि हिँडेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
ग २ च ५२१३ को जीप कुश्मा नगरपालिका-१०मा बिहान दुर्घटनामा परेको थियो। दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक (डिएसपी) विश्वराज अधिकारीले जानकारी दिए।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए।
'कतिपय डिस्चार्ज भइसकेका छन्। अरूको उपचार भइरहेको छ,' डिएसपी अधिकारीले भने,'घाइतेहरू बोल्न सक्ने अवस्थामा छन्।'
उनीहरू अस्पतालमा गएराति मिर्गौला डायलासिस गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिको मलामी जान जीपमा हिँडेका थिए। सोही क्रममा जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार उनीहरू मृतकका आफन्त तथा गाउँलेहरू थिए।