कञ्चनपुरमा इट्टा उद्योगको कोइला पिस्ने मेसिनमा परेर एक किशोरको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका ८ तिलाचौरमा रहेको जगदम्बा इट्टा उद्योगमा काम गर्ने १३ वर्षीय किशोर अर्जुन पुजाराको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
मेसिनमा परी उनको टाउको र शरीर छुट्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।
ती बालक नगरपालिकाको सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।
कोरोनाका कारण विद्यालय बन्द भएपछि उनी सो इट्टा उद्योगमा दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।