मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ।
५० लाम रूपैयाँको लगानीमा एक साताभित्र उक्त अस्पतालमा अक्सिजन प्लान्ट राखिने मध्यपुर नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए। मेयर श्रेष्ठका अनुसार यो प्लान्टबाट दैनिक नब्बे सिलीण्डर ग्यास उत्पादन गर्न सकन्छ।
जिल्लामा दैनिक कोरोना संक्रमित थपिदै गएपछि अक्सीजन अभाव पुरा गर्न प्लान्ट राख्न लगिएको मेयर श्रेष्ठले बताए।
यसैबीच मध्यपुर थिमि नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।
मध्यपुर नगरपालिकाले सञ्चालमा ल्याएको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा ९ वटा आईसीयू र ७ वटा भेन्टीलेटरसहितका बेड छन्। यी सबै बेड अहिले कोरोना संक्रमितले भरिएका छन्। ‘हामी गम्भीर प्रकृतिका विरामीबाहेक अरूलाई अहिले अस्पतालमा भर्ना गर्न सक्ने अवस्थामा छैनौं’, मेयर श्रेष्ठले भने।
भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुर थिमी, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याइसकेका छन्। यस्तै सूर्यविनायक नगरपालिकाले आईसोलसन केन्द्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छ।
भक्तपुर नगरपालिकाले ब्रम्हायणीमा ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा १०० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।
सूर्यविनायक नगरपालिकाले जगातीमा नगर अस्पताल निमार्णको अन्तिम तयारी गरिरहेको छ। निमार्णाधिन नगर अस्पतालका ५० बेडको हुने सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जानकारी दिए।
थापका अनुसार नगर अस्पताल १५ दिन भित्र तयारी भई सञ्चालनमा आउनेछ।
निमार्णधिन नगरअस्पतालमा आईसीयु, एचडियुसहित भेन्टिलेटरको सुविधा रहने थापाले जानकारी दिए।