भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वर्गीय उपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको ८६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो।
फाण्डेशनका तर्फबाट भरतमोहन पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन् ।
उनले निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
एक वर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन्।
पहिलो चरणमा ललितपुरको बुङमतिमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ। तत्काल प्रदेश तीन र क्रमशः सात वटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन्।
पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ ।
सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घण्टाका दरले कक्षा सञ्चालन गरिनेछ। कक्षामा एक को–अर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्धयन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको छ ।
अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामाग्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउण्डेशनले नै गर्ने घोषणा गरिन्। यस्तै प्रयोगात्मक सिकाइका लागि आवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ। सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२औं महिनामा अन्तिम परीक्षा लिइने छ। अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए।
भरतमोहनले थालेको एक सय रूपैयाँ वृद्धभत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे।