निजी अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क लिएको गुनासोपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुई वटा अस्पतालसँग स्पष्टीकरण सोधेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधेको हो।
ती अस्पतालले जारी गरेको मूल्य सूची सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। सो आलोचनासँगै प्रशासन कार्यालयमा गुनासो बढेपछि बुधबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
'औषधि उपचार गराउँदा बढी शुल्क लिएको भन्ने गुनासो आयो। अनि त्यसैको आधारमा हामीले अस्पतालको शुल्क के कसो हो भनेर स्पष्ट पार्न पत्र पठाएका छौं,' सिडिओ पराजुलीले भने,'यथाशीघ्र जवाफ पठाउन भनेका छौं।'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बुधबार तोकिएको उपचार शुल्कभन्दा बढी लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ।
बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सरकारले तोकेको शुल्क भन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएका हुन्।
तोकेको शुल्क भन्दा बढी लिएमा मन्त्रालय र स्थानीय प्रशासनहरूमा जानकारी गराउन सहप्रवक्ता अधिकारीले भनेका छन्।
मन्त्रालयले बढी शुल्क लिने गुनासोहरु आएपछि नियमित अनुगमन गरिरहेको जनाएको छ।