च्यासल मंका खलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएपछि अहिले चर्चामा छ। कोरोनाको भयावह स्थितिलाई मध्यनजर गर्दै आफ्नो टोलमा आइसोलेसन सेन्टर खोलिएको मंका खलःका अध्यक्ष श्याम ब्यञ्जनकार बताउँछन्।
‘अघिल्ले वर्ष नै हामीले आइसोलेसन सेन्टर बनाउने सोचेका थियौं। तर संक्रमण दर केही न्यून हुँदै गएपछि त्यो कामलाई थाँती राख्यौं,’ उनले भने, ‘अहिले फेरि त्यस्तै स्थिति बनेपछि समुदाय नै जुटेर आइसोलेसन सेन्टर खोलेका हौं। हाम्रो समुदायमा अहिले नै त त्यस्तो भयावह स्थिति आएको छैन। तर भोलि त्यो अवस्था नआउला भन्न सकिन्न। त्यही भएर सचेत भएको।’
केही दिनअघि श्यामलाई काठमाडौंका एक साथीले फोन गरेर पाटनतिर एउटा अस्पताल खोजिदिन भनेका रहेछन्। चार–पाँच ठाउँमा सम्पर्क गर्दा पनि उनले बेड पाउन सकेनन्। त्यो अवस्था आफ्नो ठाउँमा पनि हुनसक्छ भनेर आफूहरूले खाली भएको गुठीलाई नै सेन्टर बनाएको उनी बताउँछन्।
यहाँको आइसोलेसन सेन्टरमा पाँच खाट, अक्सिजन सिलिन्डर र व्हिलचेयर छन्। साथै विरामीलाई आवश्यक पर्न सक्ने औषधि, पन्जा, मास्क, फेस सिल्ड, अक्सिजन सेट लगायत सामाग्री पनि राखिएको छ।
मंका खलःसँगै च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कल मिलेर गुठीघरलाई आइसोलेसन सेन्टर बनाइएको हो। युवा क्लबकै खेलाडीका लागि बनाइएको खाट अहिले प्रयोगमा ल्याइएको छ। सिलिन्डर र व्हिलचेयर समुदायकै मान्छेको सहयोगमा किनिएको हो। औषधिका लागि भने केही पसलको पनि सहयोग छ।
टोलभित्रकै केही डाक्टरलाई पनि आवश्यकता अनुसार खटाइने मंका खलको योजना छ। डाक्टर समिरा ब्यञ्जनकारले त्यसको नेतृत्व गरेकी छन्। उनी युएस बंगला विमान दुर्घटनामा बाँच्न सफल डाक्टर हुन्।
‘स्वास्थ्यको व्यवस्थापन वहाँहरूले गर्नुहुन्छ, कार्यालयको व्यवस्थापनका लागि हामी खटिन्छौं,’ श्यामले भने।
च्यासल जस्तो घनाबस्ती भएको ठाउँमा दुई–तीन परिवार एकै घरमा बसेका हुन्छन्। सानोतिनो उपचार घरमै गर्न सकिए पनि अक्सिजन नै चाहिने स्थिति आयो भने यहाँ आउन सकिने उनी बताउँछन्।
‘यो अस्पताल होइन, स्वास्थ्य सेवा मात्र हो,’ उनले भने, ‘हामीजस्तो सानोतिनो गुठीले टोलका लागि केही गर्न सक्यौँ भने राष्ट्रको बोझ पनि केही कम हुन्छ।’