कोरोना संक्रमणका कारण नर्भिक अस्पताल भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको स्वास्थ्यमा शनिबार, आइतबारको भन्दा सुधार देखिएको हो।
आइसियूमा उपचार भइरहेकी शाहलाई दिइरहेको अक्सिजनको मात्रा घटाउनुपरेको चिकित्सक जेपी जैसवालले बताए।
उनका अनुसार कोमललाई अहिले प्रतिमिनेट सातदेखि आठ लिटर अक्सिजन दिइएको छ, यो पहिलेको भन्दा कम हो।
‘उहाँको स्वास्थ्य सुधारतर्फ अघि बढेको छ, पहिले प्रतिमिनेट ९ देखि १० लिटरसम्म अक्सिजन दिनुपरिरहेको थियो, अहिले घटाइएको छ,’ जैसवालले सेतोपाटीसँग भने।
कोमललाई बिहीबार प्लाज्मा दिइएको थियो। त्यसयता उनको स्वास्थ्य स्थिर थियो। आइतबार बेलुकाबाट भने उनको स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएको डा. जैसवालले बताए।
‘अक्सिजन दिइरहनु परिरहेकाले खतरामुक्त भन्न मिलेन तर उहाँले क्रमिक रुपमा स्वाथ्यलाभ लिइरहनु भएको छ,’ जैसवालले भने।
पूर्वराजपरिवारमध्ये कोमल, पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह वैशाख ७ गते नर्भिक अस्पतालमा भर्ना भएका थिए।
पूर्वराजा शाह र अधिराजकुमारी प्रेरणाको स्वास्थ्य भने सामान्य छ। भारतको हरिद्वारबाट फर्केपछि पूर्वराजा-रानीमा कोरोना संक्रमण भएको थियो।