देशभर कोरोना संक्रमण बढ्दै गएपछि सप्तरीमा जोरबिजोर प्रणाली लागू भएको छ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले आइतबारदेखि जिल्लामा सञ्चालन हुने अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुने बाहेकका सवारीसाधनमा जोरबिजोर लागू गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
बैठकले बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल लगायतका सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी बिक्री वितरणमा रोक लगाउने समेत निर्णय गरेको छ।
बढी भिडभाड हुने मालपोत, नापी लगायतका कार्यालयमा सेवा प्रवाह गर्दा भिडभाड नहुने व्यवस्था मिलाउने निर्णयसमेत भएको प्रजिअ पोखरेलले जानकारी दिए।
बैठकले राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनमा रोक लगाउने निर्णय समेत गरेको छ।
बैठकले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको पिसिआर ल्याबमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन मेडिकल सुपरीटेन्डेन्टलाई अनुरोध गरेको छ।
कोरोना संक्रमित भएर बाहिरी जिल्लामा उपचारको क्रममा मृत्यु भएको खण्डमा सप्तकोसी नदीको किनारमा र अन्यको हकमा आ-आफ्नो स्थानीय तहले तय गरेको स्थानमा आफ्नो धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने निर्णय बैठकले गरेको छ।