रूपन्देहीको सैनामैना नगरपालिकामा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरिएको छ।
सैनामैना- १ वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिएको हो।
बिहीबार अस्पतालको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले नेपालमा पनि नयाँ भेरियन्टको कोरोना भाइरस तीव्र गतिमा फैलिरहेकाले हरेक पालिकाहरूमा आइसोलेसन तयारी अवस्थामा राख्नुपर्ने बताए।
उनले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको बताउँदै थप कार्य योजनाका लागि सर्वदलीय बैठक राखेर अघि बढिने बताए।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अस्पतालमा अक्सिजन सिलिन्डर सहज रूपमा उपलब्ध भए ५० वटा बेडमै संक्रमितलाई सहज तरिकाले उपचार गर्न सकिने बताए।
अस्पतालमा हाल तीन वटा मोनिटरयुक्त बेड, पाँच वटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड छन्।
पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा गतवर्ष पनि आइसोलेसन सञ्चालन गरिएको थियो।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले कोरोना रोकथामका लागि सैनामैना नगरपालिकाले जिल्लामै उत्कृष्ट कदम चालेको भन्दै अरू पालिकाले पनि सिको गर्न जरूरी रहेको बताए।
विगतमा जस्तै यसवर्ष पनि कोरोनाको प्रकोप बढेसँगै नगरपालिकामा आइसोलेसन अस्पताल स्थापना गरेर प्राकृतिक तरिकाले उपचार गर्ने व्यवस्था मिलाइएको नगर उपप्रमुख विना रानाको भनाइ छ।
आइसोलेसनमा अहिले एक जना विशेषज्ञ चिकित्सकसहित एक जना हेल्थ असिस्टेन्ट, दुई जना स्टाफ नर्स, चार जना अनमी र एक जना अहेब कार्यरत छन्।
नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार सैनामैनामा हालसम्म ६१ जना सक्रिय संक्रमित छन्।