अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्ने बस्ने ७४ वर्षीय झापा आन्दोलनका योद्धा मनकुमार तामाङ्गले पक्की घर पाउने भएका छन्।
सञ्चारमाध्यममा तामाङ बस्ने घरको तस्बिर र उनले भोगेको राजनीतिक पीडासहितको समाचार प्रकाशन भएपछि दाताको सहयोगमा उनले घर पाउने भएका हुन्।
तामाङ २०२८ सालको झापा आन्दोलनमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक थिए। तामाङ ओलीको जीवनरक्षाका लागि घरेलु हतियार र बन्दुक लिएर सुरक्षाको काम गर्थे।
सर्वसाधरणको हत्या गरेको आरोपमा तत्कालीन शासकले उनलाई पक्राउ गरेर १७ वर्ष ७ महिना ७ दिन जेल हालेको थियो। तामाङलाई प्रहरीले पक्राउ गरेपछि ओली पनि पक्राउ परेका थिए।
अर्जुनधारा नगरपालिकाले उनको निर्माण हुने घरका लागि तीन लाख दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख हरिकुमार रानाले राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनका योद्धाको लागि तीन लाख दिने बताए।
यस्तै, झापाको चारपानेस्थित सहारा नेपालले पनि तामाङको घर निर्माणका लागि चासो देखाएको छ। सहारा नेपालको एक टोलीले बुधबार तामाङको घर र उनको अवस्थाका बारेमा जानकारी लियो।
यता. प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले पनि तामाङको बारेमा चासो व्यक्त गरेको छ। स्वकीय सचिव इन्द्र भण्डारीले नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठकलाई फोन गरेर सञ्चारमाध्यमका आएका कुराको अवगत गराएका थिए।
तामाङको घर निर्माणका लागि बुधबार निर्माण उपभोक्ता समिति गठन भएको छ।
अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मनबहादुर तामाङको घर निर्माण उपभोक्ता समिति गठन भएको हो। समितिले वैशाख १९ गते घरको शिलान्यास गर्ने कार्यक्रम रहेको बताएको छ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष भट्टराईका अनुसार एटेच बाथरुम, भान्सा कोठासहित तीन कोठाको आरसिसी घर निर्माण हुने भएको हो। अर्नुनधारा नगरपालिकाको प्राविधिक शाखाले घर निर्माणको लागत ८ लाख हुने बताएको छ।
यो पनि
झापा विद्रोहमा केपी ओलीका बडिगार्ड तामाङको यो बिजोग, भन्छन्- ओली कस्ता भए, एक पटक भेटेरै मर्छु