भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन गठित भूमि सम्बन्धी समस्या समाधान आयोगले हालै करार सम्झौता गरी भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलमा ‘अनौपचारिक भू-सम्बन्ध सम्बन्धी तालीम’ मा सहभागि १३० जना सर्भेक्षक र २४२ जना अमिन गरी ३७२ जनालाई तालिम दिएको छ।
तीन पटकमा १४ समूह बनाई तालिम कार्यक्रम सञ्चालन भएकोमा अन्तिम ५ समूहलाई बुधबार विशेष कार्यक्रमसहित प्रमाणपत्र वितरण गरि तालीम सम्पन्न गरेको हो।
हाल कोभिडको विषम परिस्थितिलाई मध्यनजर गरी विशेष स्वास्थ्य मापदण्ड पालना गर्दै प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
समापन कार्यक्रममा केन्द्रका निर्देशक रमेश ज्ञवालीले सहभागी अमिनलाई कार्यक्षेत्रमा पुगेर अनुशासित भई सेवा प्रवाहमा चुस्तता ल्याउन जोड दिए।
केन्द्रका कार्यकारी निर्देशक नारायण रेग्मीले आफूले सिकेका विषयवस्तुहरुमा थप अभ्यास र अध्ययनसहित खटिने स्थानीय तहमा आयोगको उद्धेश्य अनुरुपको कार्यहरु जिम्मेवारीका साथ निभाउन निर्देशनसहित बधाई तथा शुभकामना दिए।
कार्यक्रममा केन्द्रका निर्देशक राजेन्द्र राउत, लेखनाथ दाहाल, कार्यक्रम संयोजकहरु तथा केन्द्रका कर्मचारीहरुको उपस्थिति थियो।
पहिलो चरणमा १३० जना सर्भेक्षकका लागि फागुन ११ देखि २५ सम्म ४ समूहमा तालीम कार्यक्रम संचालन गरिएको थियो। सो पश्चात २४२ जना अमिन सहभागिहरुको लागि पहिलो चरणमा १२४ जनालाई चैत २३ देखि वैशाख ५ सम्म पाँच समूहमा र दोस्रो चरण ११८ जनाको लागि वैशाख ३ देखि वैशाख १६ सम्म तालिम सञ्चालन गरिएको हो।
कोभिडको विषम परिस्थितिलाई मध्यनजर गर्दै एक दिन अगाडि वैशाख १५ गते नै प्रमाणपत्र वितरण गरि एकदिन विधुतीय माध्यमबाट तालीम संचालन हुने गरी कार्यक्रम सम्पन्न गरिएको केन्द्रले जनाएको छ।
दुई साताको अवधिमा भूमि सम्बन्धि समस्या समाधान आयोगको उद्देश्य बमोजिमको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासको व्यबस्थापनसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, अनुसूचिको जानकारीहरु सहित जग्गा नापजाँच तथा अभिलेख व्यबस्थापनका सैद्धान्तिक कक्षाहरु, फिल्डकार्यहरु तथा प्रयोगात्मक-ल्याव अभ्यास कक्षालगायत तालिम दिइएको केन्द्रका योजना अधिकृत संजय मानन्धरले जानकारी दिए।