कोरोना भारइसविरूद्धको 'भेरोसेल' नामक चिनियाँ खोप लगाउने व्यक्तिले दोस्रो डोज पनि काठमाडौंमै लगाउनुपर्ने भएको छ।
खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार खोप कार्ड देखाएर भारतीय खोपको दोस्रो डोज काठमाडौंबाहिर पनि लगाउन सकिने भए पनि चिनियाँ खोप भने काठमाडौंमै लगाउनुपर्ने हुन्छ।
उनले चिनियाँ खोप सीमित आएका कारण काठमाडौंमा मात्र वितरण गरिएको भन्दै दोस्रो डोज लगाउने व्यक्तिले यहीँ लगाउनुपर्ने बताए।
'जम्मा चार लाख जनालाई पुग्ने खोप भएकाले बाहिर पठाउन सकिएन। 'रिस्क डेन्सिटी' अर्थात् जोखिम घनत्वको हिसाबले पनि काठमाडौंमै वितरण गर्नुपर्छ भन्ने भयो,' डा. शर्माले भने।
चीनले नेपाललाई ८ लाख डोज 'भेरोसेल' खोप अनुदानमा दिएको थियो।
सुरूमा उक्त खोप कसरी वितरण गर्ने अन्यौलमा परेको सरकारले पछि काठमाडौंमा रहेका निश्चित समूहका मानिसलाई लगाउने निर्णय गरेको थियो।
पछि ती क्षेत्रका धेरै मानिसहरू खोप लगाउन आकर्षित नभएपछि सरकारले १८ वर्षमाथिका सबैलाई उक्त खोप लगाउने भन्यो।
पहिलो डोज लगाएकाहरूका लागि दोस्रो डोज पनि सुरक्षित भण्डारण गरिएको डा. शर्मा बताउँछन्।
उनले पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज अभियान सुरू गरिने जनाए।
तर उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएपछि धेरै मानिसहरू आ-आफ्ना गाउँ फर्किएका छन्।
यदि तीमध्ये पहिलो डोज चिनियाँ खोप लगाउने व्यक्ति छ भने उनीहरूले दोस्रो डोज पनि उपत्यकामै लगाउनुपर्ने उनले बताए।
भारतीय खोप लगाउने व्यक्तिले भने खोप कार्ड देखाएर दोस्रो डोज सम्बन्धित जिल्लाबाट पनि लगाउन सकिने जनाए।