श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेपछि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैंका २६ वर्षीय पदम पोखरेलले ढुंगा प्रहार गरी २५ वर्षीया श्रीमती विपना रेग्मीको हत्या मंगलबार राति हत्या गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहअनुसार मंगलबार राति साढे ९ बजेतिर पदमले श्रीमती विपनाको अनुहारमा ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घाइते विपनाको झण्डै दुई किलोमिटर दक्षिणमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै फरार पदमलाई मध्यरात १२ बजेतिर तुलसीपुरको ग्वारखोला क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए।
‘श्रीमतीमाथि ढुंगा प्रहार हत्या भएको ठहर भएलगत्तै आरोपी जंगलको बाटो हुँदै भागे,’ डिएसपी सिंहले भने, ‘भागेर मामा घरमा पुगेको कुरा पत्ता लाग्यो, त्यहाँबाट खोलै खोला ग्वारखोला पुगेका उनलाई राति पछ्याउँदै पक्राउ गर्न सफल भएका हौं।’
पक्राउ परेका पदमले श्रीमतीको चरित्रमाथि प्रश्न उठाउने गरेको डिएसपी सिंहले बताए।
‘म मंगलबार राति कोठातर्फ फर्किंदै थिएँ। एउटा केटा श्रीमतीलाई स्कुटरमा छोड्न आयो। घर नजिकै आएपछि स्कुटर रोकियो र उनीहरूले आपसमा चुम्बन गरे,’ पदमको भनाइ उद्धृत गर्दै डिएसपी सिंहले भने, ‘मैले मदिरा सेवन गरेको थिएँ। किन यस्तो गरेको भनेर सोध्दा भनाभन भयो। विपनाले सुरूमा मलाई सडकको ढुंगा उठाएर प्रहार गरिन्, तर मलाई लागेन। त्यसपछि मैले पनि ढुंगा उठाएर हिर्काउँदा उसको मृत्यु हुन गएको हो।’
पदम करिब एक डेढ हप्ता अगाडिमात्रै कतारबाट घर फर्किएका थिए। आएपछि उनी केही दिन होम-आइसोलेसनमा बसेको प्रहरीले जनाएको छ।
पदमका अनुसार विपना तुलसीपुरस्थित एक होटलमा काम गर्ने गर्थिन्। पदमले होटलमा काम नगर्न विदेशदेखि नै सम्झाउँदै आएका थिए।
‘म तिमीहरूलाई पुग्ने सबै खर्च पठाई हाल्छु नानी हेरर बस्नु होटलमा काम नगर्नू भने पनि उसले कहिल्यै मानिन,’ डिएसपी सिंहले पदमको भनाइ उद्धृत गर्दै भने, ‘उसको बारेमा मैले धेरै नराम्रो कुराहरू सुनेको थिएँ, तै पनि सम्झाउन खोज्दा उल्टै तीन वर्ष बाहिर बसेर आज किन आइस् भनेर जवाफ लगाउने गर्थी।’
श्रीमतीकै आग्रहमा एक हप्ता अगाडिमात्रै पदमले श्रीगैंमा डेरा खोजेर राखेका थिए।
‘तीन दिन अगाडि मात्रै उनीहरूका बीचमा चरित्रको कुरालाई लिएर विवाद भएको र पदम घरबाट निस्केको कुरा पनि खुल्न आएको छ,’ डिएसपी सिंहले भने, ‘सानी छोरी र श्रीमतीलाई सम्झेर मन सम्हाल्न नसकेर म श्रीमतीलाई सम्झाइ-बुझाइ गर्छु भनेर उक्त दिन घरतर्फ आइरहेको समयमा श्रीमतीलाई अर्कै व्यक्तिसँग अंगालोमा देखेको पदमको दाबी छ।’
घटनाबारे थप अनुसन्धान अगाडि बढाउने र दोषी पदमलाई ज्यान उद्योगमा मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने डिएसपी सिंहले बताए।