स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आएर क्वारेन्टिनमा बसेका विदेशीको सशुल्क पिसिआर परीक्षण गराउन प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले हिजो सूचना प्रकाशित गर्दै नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने कुनै पनि विदेशीको पिसिआर परीक्षण नगराउन प्रयोगशालाहरूलाई सर्कुलर गरेको थियो। तर मन्त्रालयले अन्य प्रयोजनले नेपाल आई क्वारेन्टिनमा रहेकाहरू पनि त्यसबाट परीक्षण गराउन वञ्चित भएको भन्दै हिजोको सूचना सच्याएको हो।
'नेपाललाई ट्रान्जिट बनाई अन्यत्र जाने नेपाली बाहेकको हकमा हिजोका मितिसम्ममा नेपाल आई क्वारेन्टिनमा बसेका तथा 'एअर बबल' सुविधाअनुसार नेपाल आउनेहरूलाई सशुल्क पिसिआर परीक्षण गराउन प्रयोगशालाहरूमा अनुरोध छ,' आज प्रकाशित सूचनामा भनिएको छ।
पछिल्लो समय भारतबाट धेरै मानिसहरू नेपाललाई ट्रान्जिट बनाई तेस्रो मुलुक जाने गरेका थिए। नेपाल बसाइका क्रममा कतिपयले यहाँ पनि पिसिआर परीक्षण गराएका थिए। तर संक्रमण उच्च रहेको भारतबाट आएकाहरू त्यसरी परीक्षण गराउन हिँड्दा त्यसको जोखिम यहाँ पनि रहने भन्दै स्वास्थ्य मन्त्रालयले उनीहरूको परीक्षणमा रोक लगाएको हो।