महानगरीय प्रहरी प्रभाग पुल्चोकमा निर्माणाधिन कार्यालय भवनका लागि आवश्यक सामाग्रीहरू सडक छेकिनेगरी राखेको भन्दै ललितपुर महानगरले हटाएको छ।
पैदल यात्रुलाई असहज हुने गरी जथाभावी सडकमा राखिएका रड, गिटी, ढुंगा, इँटालगायत निर्माण समाग्रीहरू ललितपुर महानगरपालिकाले हटाएको हो।
अत्यधिक चाप हुने उक्त फुटपाथमा महानगरीय प्रहरी प्रभागले लामो समयदेखि निर्माण सामग्री थुपार्दै आइरहेको थियो। सर्वसाधारणको गुनासो आउन थालेपछि ललितपुर महानगरपालिका नगर प्रहरीले उक्त सामाग्री हटाउन ताकेता गरे पनि प्रहरीले नमानेपछि नगर प्रहरी आफैंले उक्त सामाग्री पन्छाएको ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुंले सेतोपाटीलाई जानकारी दिए।
‘कानुन सबैका लागि बराबर हुन्छ, प्रहरीलाई भनेर छुट हुन्न’, हाछेथुले भने,‘नियमको पालना सबैले गर्नुपर्छ।’
यसअघि नगर प्रहरीले तीन महिनादेखि फुटपाथमा निर्माण सामग्री थुपारेको जावलाखेलस्थित नवनिर्मित घर अगाडिको सडकबाट ती सामाग्री हटाएको थियो।
नगर प्रहरीले ती सामाग्री हटाउन फागुनदेखि नै ताकेता गरे पनि घरधनीले अटेर गर्दै आएपछि बिहीबार सामान उनकै घरमा पन्छाइदिएका हो।
त्यस्तै, नगर प्रहरीले केही महिनादेखि फुटपाथ नै ओगटेर व्यवसायीले थुपार्ने गरेका सामान र विद्युत् पोल हटाउँदै आएका छन्। फुटपाथ क्लियरसँगै विशेष गरी ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन तथा बालबालिकालाई बढी राहत पुगेको छ ।
ललितपुर महनगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले फुटपाथ ओगटेका सबै संरचना हटाउँदै जाने बताए।
यसरी सडक पेटी ढाकेर पैदल यात्रुलाई अवरोध हुने गरि विभिन्न ठाउँमा राखिएका निर्माण सामाग्री हटाउन सम्बन्धित व्यक्तिलाई जानकारी गराइसकेको भन्दै हाछेथुंले अब सबै ठाउँबाट हटाएर बाटो सफा पार्ने बताए।
फुटपाथ र सडकमा सामान थुपार्दा बाटो अवरोध हुने मात्र नभई सहर नै असभ्य देखिने गरेकाले सफा र सुन्दर ललितपुर महानगर बनाउन अभियान चलाइएको हाछेथुले बताए । उनले घर निर्माण गर्नेले राति ९ देखि बिहान ७ बजेभित्रमा सामान लगिसक्नुपर्छ । निर्माण सामग्री थुपार्नुपरेमा महानगरबाट आवश्यक स्वीकृति लिनुपर्ने यदि नियम नमानेमा कारबाहीको भागीदार हुनुपर्ने बताए।
जथाभागी सडकमा सामान थुपार्नेलाई ललितपुर महानगर स्थानीय राजपत्र भाग २ मा फोहोरमैला व्यवस्थापन ऐन, २०७५ अनुसार कारबाही हुने व्यवस्था छ।
ऐनको परिच्छेद–८ दफा २३ मा घर, कम्पाउन्ड वा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा जथाभावी राख्ने, फाल्ने वा थुपार्नेलाई कसुर र दण्ड सजायको व्यवस्था छ । दफा २४ अनुसार नियम उल्लंघन गर्नेलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार पनि कारबाही हुने व्यवस्था छ।
ललितपुर महानगरलाई सफा र सुन्दर बनाउने महानगरको प्रमुख कर्तब्य रहेको भन्दै हाछेथुंले यसअघिनै ललितपुर महानगरपालिका भित्र अव्यवस्थित तवरले टाँगेका र सडकमा लत्रिएर बसेको तार व्यवस्थित पारिसकेको छ।
अव्यवस्थित तारका कारण शहर कुरुप बनेको र दुर्घटनाको जोखिम बढेको भन्दै महानगरले त्यस्तो तार हटाएर सफा पारेको छ।
यसअघि, ललितपुर महानगर क्षेत्रका होर्डिङबोर्ड हटाएर नगर प्रहरीले सम्पदा सफाइ अभियान चलाएको थियो।
यस्तै महानगरले ललितपुर महानगरभित्र अस्थायी रुपमा रहेका फुटपाथभन्दा पनि सटर भाडामा लिएर सडक मिच्ने प्रवृत्ति हटाएको छ।
सहरको शोभा बढाउने भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ। हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।
ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्। ‘हामीले मुख्य बाटोमा मात्र नभएर सहरका भित्री सडकका पोलमा पनि वर्षौदेखि टाँसिएका विज्ञापन हटाएर ६ फिट उचाईसम्म हरियो रंग लगाएर सफा बनाएका छौ’, हाछेथुले भने,‘सफा पारेका बिजुलीका पोलमा भर्ना खुल्यो, विभिन्न जागिर, घर–फ्ल्याट खाली’ जस्ता विज्ञापन टाँस्नेलाई नगरपालिकाले कारवाही शुरु गरिसकेको छ।’