वीर अस्पतालको नयाँ भवनलाई कोभिडका बिरामीमात्र उपचार गर्ने गरी तयार पार्न काम अघि बढाइएको छ।
अस्पतालका कोभिड संयोजक डाक्टर अच्युतराज कार्कीले अस्पतालको नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्र बिरामी राख्ने गरी काम अघि बढाइएको जानकारी दिए।
नयाँ भवनमा अहिले पनि निर्माणको कार्य चलिरहेको हुँदा ठेकेदारहरूसँग कुराकानी भइरहेको भन्दै डा. कार्कीले सकेसम्म छिटो तयार पारिने जनाए। उनले नयाँ भवनमा कम्तीमा दुई सय बेड सञ्चालन गरिने र त्यसलाई बढाएर तीन सयसम्म पुर्याउन सकिने बताए।
नयाँ भवनमा कोभिड सेवा सुचारू गर्नका लागि स्टाफ नर्स र सरसफाइ कर्मचारीको भने अभाव रहेको डा. कार्की बताउँछन्।
'हामीलाई अरू कुनै समस्या हुँदैन तर स्टाफ नर्स र सरसफाइ कर्मचारी अभाव छ,' उनले भने, 'बरू हामीलाई चिकित्सक अभाव हुन्न। हामी यता रहेका चिकित्सकलाई त्यता खटाउन सक्छौं।'
उनले ठेकेदारबाट स्वीकृत हुनसाथ भवनमा सेवा सूचारू गर्न समय नलाग्ने बताए।
धेरै काम नरहेको भन्दै बेड हाल्ने र आइसियू र भेन्टिलेटर मात्र जडान गर्नुपर्ने उनी बताउँछन्।
अस्पतालले अहिले कोभिडका बिरामीलाई पुरानै भवनमा उपचार गरिरहेको छ। जसमा ४१ जना संक्रमित उपचाररत छन्।
'अहिले कोभिडका लागि भनेर ७६ बेड छुट्याइएको छ। त्यसमा ४१ जना संक्रमित भर्ना हुनुहुन्छ। जसमा सात जना आइसियू र दुई जना भेन्टिलेटरमा छन्,' डा. कार्कीले भने।