कोरोना संक्रमितले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका शय्या भरिएका छन्।
संक्रमित बढ्दै गए पनि आइतबारदेखि अस्पतालमा शय्या अभाव भएको छ। कोरोना उपचार भवनमा रहेका ५५ शय्या भरिएको हो।
अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोना संक्रमितले अस्पतालका सबै शय्या भरिएको बताए।
शय्या अभाव भएकोबारे प्रदेश सरकारलाई जानकारी गराइएको पनि उनले बताए।
यस्तै कञ्चनपुरको महाकाली अस्पतालमा भएका ५० शय्याका आइसोलेसन पनि भरिएको अस्पतालका सूचना अधिकारी नारद भट्टले बताए।
यहाँ आइसियूमा ६ जनाको उपचार भइरहेको छ। एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले थप आइसोलेसन शय्याको व्यवस्था गर्न अहिले छलफल भइरहेको र आजै यसबारे निर्णय गरिने सेतोपाटीलाई बताए।