तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माण गर्न टेण्डर आह्वान गरिएको छ।
नेपाल आयल निगम अन्तर्गत इन्जिनिरिङ तथा परियोजना विभागले ३० दिने सूचनासहितको टेण्डर आह्वान गरेको हो।
नेपाल आयल निगमम इन्धन डिपो कार्यालय तुलसीपुरका प्रमुख विपिन श्रेष्ठले टेण्डर आह्वानको समय र मूल्याङ्कनसहित ढिलोमा ४५ दिनभित्र निर्माणको काम सुरू हुने जानकारी दिए।
दैनिक ३ वटा जहाजले उडान भरे पनि एक महिनासम्म इन्धन पुग्ने गरी ३० केएलका २ वटा अन्डरग्राउण्डेड ट्यांक निर्माण गरिने भएको छ।
इन्धन भर्नका लागि ट्यांक र बाउजर मेसिन तयारी अवस्थामा राखेको निगमले जनाएको छ।
डिपो निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ।
‘हवाइ इन्धन डिपो निर्माणको काम अब अघि बढ्यो,’ तुलसीपुरका मेयर घनश्याम पाण्डेले भने, ‘इन्धन डिपोले तुलसीपुरलाई समृद्ध बनाउन कार्यमा एउटा इँट्टा थप्ने काम गर्नेछ।’
२०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो एयरपोर्ट हो।
तर राज्य सञ्चालकको नजर नपुग्दा नेताहरूले ध्यान नदिँदा यो एयरपोर्टको अवस्थामा सुधार आउन सकेको छैन।
पछिल्लो समय यो एयरपोर्टमा नेपाल वायुसेवा निगमको विमानले दैनिक एउटा उडान भर्दै आएको छ।