ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्दै निःशुल्क मास्क वितरण सुरु भएको छ ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा महानगरपालिका अन्तर्गतको नगर प्रहरी बलले यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत बुधबार ललितपुर महानगर भित्रका सार्वजनिक, निजी तथा भाडाका सवारी साधनमा यात्रारत यात्रु, चालक र सहचालकलाई मास्क वितरण गरिएको छ।
सडकमा मास्क नलगाएर हिँड्ने नागरिक, बजार पसलमा सामान किन्न आउने सर्वसाधारणलाई मास्क वितरण गरेको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए। उनका अनुसार आज पुल्चोक, जावलाखेलमा, मंगलबजारसहित ललितपुर महानगर भरी यो सेवा सञ्चालन गरिएको उनले जानकारी दिए।
मास्क नलगाएर हिँड्नेलाई मास्क दिने र सही तरिकाले मास्क नलगाउनेलाई मास्क लगाउन सिकाउने गरिएको उनले बताए। मास्क वितरण गर्न र मास्क लगाउने सही तरिकाबारे जानकारी दिन ललितपुर महानगरपालिकाका चोकचोकमा नगर प्रहरी खटिने छन् ।