गुल्मी कारागारमा एक जना कार्यालय सहयोगी मृत फेला परेका छन्।
मंगलबार बिहान कारागारका कार्यालय सहयोगी रहेका रेसुङ्गा नगरपालिका-१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मृत फेला परेका हुन्।
बिहान करिब ८ बजेदेखि पौने ९ बजे बीचमा पालु पहरामा बसेको बेलामा झुण्डिएर आत्महत्या गरेको कारागार प्रमुख भेषराज पन्थले जानकारी दिए।
'अफिसकै कोठामा झुण्डिएको हो। कार्यालय प्रमुखको कार्यकक्ष मेरो कोठाको पछाडि एउटा कोठा छ। त्यहाँको कोठाको सिलिङमा फ्यान राख्ने ठाउँमा डोरी पासो लगाएर झुण्डिनुभएको हो,'पन्थले सेतोपाटीसँग भने,'पालु पहरामा एक जना २४ घण्टै उपस्थित हुन्छन्। त्यसले प्रशासनको प्रतिनिधित्व गर्ने। गएरातिदेखि कारागारभित्र ड्युटीमै बस्नुभएका उहाँले आत्महत्या गर्नुभयो।'
पाण्डे ६० साल देखि करारमा कारागारमा कार्यरत थिए। उनी गत चैत ३० गतेमात्रै घर गएर काममा फर्किएका थिए।
मृतक पाण्डेका एक छोरा र दुई छोरी छन्।
उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गुल्मीमा लगिएको छ। यसअघि पनि उनले विष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रमुख पन्थीले जानकारी दिए।
'पहिले पनि उहाँले विष सेवन गर्नुभएको रहेछ। उहाँलाई अस्पताल लगेर बचाइएको थियो,' पन्थीले भने।