गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा स्थापना गरिएको 'एनआरएन नेपाल डेभलपमेन्ट फण्ड' (एनडीएफ) को औपचारिक घोषणा गरिएको छ।
सोमबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी फण्डको घोषणा गरिएको हो। फण्ड तत्काल दश अर्ब रूपैयाँको हुनेछ। यो कोष विस्तारै वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।
सरकारको पाँच प्रतिशत लगानी हुने यो कोषमा गैर आवासीय नेपालीले दश प्रतिशत लगानी गर्ने र बाँकी ८५ प्रतिशत लगानी साधारण शेयर निष्काशन (आइपीओ) जारी गरी पूर्ति गरिनेछ। एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार छिट्टै आइपीओ जारी गरिनेछ।
संघले कोष सञ्चालन समितिको अध्यक्षमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई चयन गरेको छ भने कोषको प्रमुख कार्यकारी अधिकृतमा बैंकर अनलराज भट्टराईलाई नियुक्त गरेको छ ।
सन् २००७ मै डेभलपमेन्ट फण्डको अवधारणा आए पनि सन् २०१८ मा पूर्वअध्यक्ष भवन भट्ट नेतृत्वको समितिको विशेष पहलमा यसलाई अगाडि बढाईएको थियो । लामो समयको प्रयासपछि वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको समितिले गत महिना कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन अन्तर्गत एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामक कम्पनी दर्ता गराएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले दश अर्ब राशी प्रारम्भिक मात्रै भएको बताउँदै यसलाई पचासौं अर्बको राशीमा विस्तार गर्ने लक्ष्य रहेको बताए।
त्यस्तै, फण्डका अध्यक्ष एवम् संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मुलुक सम्पन्न नभई कुनै व्यक्तिमात्रै सम्पन्न हुनुले अर्थ नराख्ने महशुस गर्दै नेपाल डेभलपमेन्ट फण्डको स्थापना गरिएको बताए। ‘यसमा सामूहिक लगानीको खाँचो छ,’ उनले भने, ‘यो त्यसैको शुरुवात हो।’
महतोले फण्डमार्फत विदेशमा छरिएका नेपालीहरुको पूँजी मात्रै नभई प्रविधि, सुशासन र पारदर्शिता पनि नेपाल भित्रिने बताए।