बञ्चरो देखाएर बालाजुमा एक व्यक्तिलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा नाम्जुङ्ग-३ घर भई हाल काठमाडौं-१६ बस्ने १८ वर्षीय सुमन परियार,
ओखलढुंगा पतलेछेर्मादिङ गाउँपालिका-६ घर भएका १८ वर्षीय को छिरिङ मोक्तान र
मकवानपुर पालुङ- ८ घर भएका २१ वर्षीय सुरज तामाङ छन्। तिनै जनालाई बालाजु गंगाहल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले काठमाडौं-१६ बालाजुमा बसिरहेका १९ वर्षीय रमेश चनारालाई घाइते बनाएर लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चनारा रुकुम मुसिकोट नगरपालिका-२ का हुन्। चनारालाई वैशाख ३ गते बञ्चरो प्रहार गरी उनीहरू भागेका थिए। बञ्चरो प्रहारबाट चनारा सख्त घाइते छन्।
लुटपाट गर्ने मनसायले उनीहरूले चनारालाई सुरूमा बञ्चरो देखाएका थिए। प्रयास असफल भएपछि चनारालाई प्रहार गरी उनीहरू भागेको परिसर प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।