ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ।
हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।
ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्।
महर्जनले पोलमा राखेका विभिन्न कम्पनीहरूका पोस्टर र विज्ञापन हटाएर हरियो रंग लगाउँदै ललितपुर नगर प्रहरीलाई यसको सम्पूर्ण सुरक्षा र कारबाहीको अख्तियारी दिएका छन्।
‘सहरलाई पृथक देखाउन, हरियाली प्रवर्धनमा सहयोग पुर्याउन र पोलमा जथाभावी पम्प्लेट टाँस्न आउनेलाई झस्काउन यो काम गर्न लागेका हौं।’ महानगर प्रमुख महर्जनले भने, ‘महानगरको निर्णयलाई नटेर्नेमाथि कडा कारबाही गरिनेछ।’
ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार १० वर्ष पुराना विज्ञापन हटाएर रंगरोगनको काम भइरहेको छ। ‘हामीले मुख्य बाटोमा मात्र नभएर सहरका भित्री सडकका पोलमा पनि वर्षौदेखि टाँसिएका विज्ञापन हटाएर ६ फिट उचाईसम्म हरियो रंग लगाएर सफा बनाएका छौ’, हाछेथुले भने,‘सफा पारेका बिजुलीका पोलमा भर्ना खुल्यो, विभिन्न जागिर, घर–फ्ल्याट खाली’ जस्ता विज्ञापन टाँस्नेलाई नगरपालिकाले कारवाही शुरु गरिसकेको छ।’
यसैबीच पछिल्लो पटक विज्ञापन टाँसेका ३ जनालाई कारवाही गरिएको भन्दै उनले महानगर भित्रका कुनै पनि बिजुलीका पोल या इन्टरनेट र टेलिकमका पोलमा विज्ञापन टाँस्नेलाई कारबाही गर्ने बताए।
महानगर भित्रका करिब ८० प्रतिशत पोलका विज्ञापन हटाएर रंगरोगन गरिसकेको भन्दै हाछेथुले सफा पारिएको पोलमा फेरि पनि टाँसे वा भित्तेलेखन गरेको पाइएमा जरीवानासहित कारबाही गर्ने बताए।
यसैबीच विज्ञापन ऐनले पनि बिजुलीका पोलमा, टेलिफोनको तार राखिएको पोलमा विज्ञापन बोर्ड राख्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर, अधिकांशले पोलहरूमा विभिन्न कम्पनीका विज्ञापनजन्य सामग्री जतासुकै टाँगिएका पाइन्छन्।
ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बा (पोल)मा पम्प्लेट र पोष्टर टाँस्न नदिने भएको हो।
यसअघि महानगरले महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाउनुका साथै सडकका पेटीलाई व्यवस्थित बनाइसकेको छ।
त्यस्तै, नग्न तस्वीर राखिएका विज्ञापन र मादक पदार्थका होर्डिङ बोर्डलगायतले ऐतिहासिक संस्कृतिको थलो ललितपुर क्षेत्र कुरूप बनाएको भन्दै नगर प्रहरीले त्यस्ता बोर्डहरू हटाएर सफा बनाइसकेको छ।
शहरलाई सफा र सुन्दर बनाउने लक्ष्य राखेर ललितपुर नगरप्रहरीको नेतृत्व गरेका हाछेथुले भने, ‘सरकारले बनाएको कानुन अनुसार सबै बोर्ड हटाएँ, साइकल गस्ती र साइकल लेन बनाएँ, नगर चेतना अभियान चलाइरहेको छु, अहिले हाम्रो महानगरपालिका सफा छ। यस्तो बेला पर्चा पम्प्लेट टाँसेर कुरुप बनाएको सहर सफँ गर्ने अभियानमा छु।’