भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने भएको छ।
त्यहाँ हुने पञ्चायत चुनावको लागि आइतबार बेलुका ४ बजेदेखि सोमबार राति १२ बजेसम्म नाका सिल हुने प्रशासनले जनाएको छ।
कैलाली र कञ्चनपुर दुवै जिल्लाका प्रशासन कार्यालयले यसबीच गौरीफन्टा नाका पूर्णरूपले बन्द रहने जनाएका छन्।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भारतमा हुने चुनावका बेला बोर्डर सिल गर्ने विषयमा सहमति भएको बताए।
कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले १८ अप्रिल बेलुका ४ बजेदेखि १९ अप्रिल राति १२ बजेसम्म सीमा सिल हुने बताए।
उनले त्यस रात नाका नखुल्ने र अर्को दिन बिहानमात्र सुचारू हुने बताए।
नेपाल-भारत सीमामा उत्तर प्रदेशका सात जिल्ला महाराजगंज, सिद्धार्थनगर, श्रावस्ती, बलरामपुर, बहराइच, लखीमपुर खीरी र पीलीभीत पर्दछन्। उत्तर प्रदेश र नेपालसँग ५५१ किलोमिटर लामो सीमा छ।
चुनावलाई मध्यनजर गर्दै सीमामा अतिरिक्त सतर्कता अपनाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
एबिपी समाचारका अनुसार पुलिस र एसएसबी जवानका संयुक्त गस्ती निरन्तर जारी छ।
नेपाल र भारत दुबै देशमा चुनावका बेला सुरक्षाका दृष्टिकोणले सीमामा आवागमन रोक्ने गरिएको छ।