कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)निर्देशक समितिको बैठकले कोभिड-१९ को दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएको छ।
पहिलेको भन्दा अहिलेको कोरोना भाइरस छिटै फैलिन सक्ने भएकाले सोहीअनुसार प्रतिकार्यमा जुट्न निर्देशन दिइएको निर्देशक समितिले जनाएको छ।
पहिले सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै जाने, मास्क तथा सेनिटाइजर लगाउने, समुदाय, टोलमा स्थानीय निकायले जनचेतना फैलाउने लगायत काममा जोड दिइएको निर्देशक समितिका एक सदस्यले बताए।
हालकै स्थितिमा विद्यालय बन्द नहुने तर अहिले देखिएका ठाउँहरूमा तत्कालका लागि पढाइको वैकल्पिक व्यवस्था गर्नेबारेमा छलफल भइरहेको ती सदस्यले बताए।
‘वैकल्पिक रुपमा पठन-पाठनको व्यवस्था गर्नुपर्ने आवश्यकताबारे छलफल भइरहेको छ, यसबारे मन्त्रिपरिषदले निर्णय गर्नेछ,’ ती सदस्यले भने।
साथै, रात्रिकालीन व्यवसाय बन्द गर्ने तथा यातायातमा केही कडाइ गर्नेबारे छलफल भए पनि कुनै पनि निर्णय नभएको बैठकमा उपस्थित एक सदस्यले बताए।