देउखुरीस्थित वित्तीय संस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरी दुई लाख रकम निकासा गरेको तथ्य सार्वजनिक भएको छ।
संस्थामा आवद्ध एक महिला सदस्यको नाममा रहेको रकम सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षरसहितको फाइल बनाएर रकम निकासा गरेको खुल्न आएको हो।
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड लमही शाखामा कार्यरत् फिल्ड महिला कर्मचारी कुसुम थापाले लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्जकी इन्द्रकुमारी चौधरीको किर्ते गरी दुई लाख रुपैयाँ निकासा गरेको पाइएको हो।
चैत २६ गते शाखा म्यानेजरका रुपमा चोकराज ढकाल आएपछि उनले त्यो तथ्य पत्ता लगाएका हुन्।
उनैले ऋण कर्जाको फाइल हेर्ने क्रममा इन्द्रकुमारी चौधरीको नाममा ऋण देखेपछि फोन गरेर मासिक किस्ता किन नबुझाएको हो? भनेर सोधे।
ढकालको कुरा सुनेर चौधरी अक्कन बक्क भइन्। लिँदै नलिएको ऋणको किस्ता कसरी तिर्ने भनेर प्रतिवाद गरिन्।
वास्तविकता पत्ता लगाउन संस्थाले ढकाल नेतृत्वमा छानविन समिति बनायो। छानविनका क्रममा चौधरीको नाममा किर्ते गरी ऋण निकासा गरेको प्रमाण फेला पर्यो।
कर्मचारी थापाले किर्ते गरेको तथ्य फेला फेला पर्यो।
सोधपुछका क्रममा उनले किर्ते गरी रकम निकासा गरेको स्वीकार गरिन्।
उनले इन्द्रकुमारीको रकम केही दिनमै चुक्ता गर्ने कागज गरिन्। आरोपित थापालाई संस्थाले कारबाहीसमेत गरिसकेको जानकारी दिएको छ।
लमही नगर र राप्ती गाउँपालिकामा कारोबार गर्दै आएको ग्रामीण संस्थामा एक हजार एक सय ५४ सदस्य रहेका छन्।