बिहीबार राति मुलुभरका अधिकांश स्थानमा असिनापानी र ठूलो हावाहुरी चलेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ। प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
मानन्धरका अनुसार आज राति ११ बजेसम्म केही स्थानमा हावाहुरी चल्नसक्छ। यो हावाहुरी प्रि-मनसुन एक्टिभिटीअन्तर्गत नै चलेको भन्दै उनले अझै केरी बेर हावाहुरी चल्ने भने केही स्थानमा असिना पानी पर्ने र ११ बजेपछि विस्तारै यो घटेर जाने मानन्धरले भनिन्।
भोलि दिउँसो पनि मुलुकका केही भागमा हावाहुरी चल्नसक्ने मौसमविद् मानन्धरले जानकारी गराइन्।
आज प्रदेश १, वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा हावाहुरी र असिना पानी परेको उनले बताइन् ।
यसैबीच एक नम्बर प्रदेशको झापा, मोरङ, सुनसरी, धनकुटा तथा तेह्रथुमलगायतका जिल्लामा भिषण असिना पानी र हावाहुरी आएको छ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार जिल्लामा ठूलो असिना पानी परे पछि बालीनालीलाई असर गरेको छ।
यद्यपी असिना पानीले डढेलो नियन्त्रणमा भने ठूलो सहयोग पुगेको उनले बताए। धेरै ठाउँमा लागेको डढेलो असिना पानीले निभाएको दाहालले जानकारी दिए।
हावाहुरीसहित आएको असिना पानीले काठमाडौंसहित मुलुकभरका विभिन्न स्थानमा बिजुली अनियमित भएको छ।