स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ।
पछिल्लो समय संक्रमण दर बढेका कारण मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन केन्द्रले बसेको बैठकले सो निर्णय गरेको हो।
यसअघि संक्रमण दर घटेको भन्दै सबै सरकारी अस्पतालहरूले कोभिड बेडलाई समेत ननकोभिड बनाएर सेवा प्रवाह गरिरहेका थिए।
साथै सरकारी अस्पतालहरूलाई संक्रमितको नि:शुल्क उपचार गराउन र अनिवार्य फिवर क्लिनिक सञ्चालन गर्न मन्त्रालयले भनेको छ।
त्यस्तै, निजी प्रयोगशालाहरूलाई कोरोना परीक्षण गरेबापत दुई हजारभन्दा बढी शुल्क नलिन भनेको छ।
सबै अस्पतालहरूलाई बालबालिका, गर्भवती, जेष्ठ नागरिक र अपांगता भएका संक्रमितहरूलाई विशेष प्राथमिकता दिएर उपचार गराउन मन्त्रालयले अनुरोध गरेको छ।
यसका साथै मन्त्रालयले अति प्रभावित क्षेत्र भनेर वर्गीकरण गरिएका ठाउँहरूमा बढी भीडभाड हुने स्थलहरूमा मानिसहरूलाई सहभागी नहुन भनिएको छ। जसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ छन्।