सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो।
बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो। सो ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए।
बरहथवा नगरपालिका-१५ पिपराभित्ता बस्ने ४५ वर्षीय मोटरसाइकल चालक भिखारी सहनी र पछाडि सवार रौतहट परोहा नगरपालिका-९ ४० वर्षीय प्रकाश सहनी गम्भीर घाइते भएका थिए। उनीहरूलाई जिल्ला अस्पताल मलंगवा लगिएको थियो।
दुबै जनालाई साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।