प्रहरीले चोरी गरेको आरोपमा 'कुखुरे समूह'का पाँच जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।
४-५ वर्षदेखि काठमाडौंको बालाजु/महाराजगन्ज क्षेत्रमा चोरी गर्दै आएको आरोपमा पाँच जनालाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेहरू काठमाडौं महानगर-२९ बालाजु मनमैजु बस्ने कुखुरे भन्ने राजेश लामिछाने, तार्केश्वर नगर-५ लोलाङ बस्ने २५ वर्षीय भीम तामाङ, २३ वर्षीय रितेश लामा, २७ वर्षीय विलाश खतिवडा र २८ वर्षीय नवराज सदाशंकर हुन्।
सदाशंकर चोरीको सुन किन्ने सुन पसले हुन्।
'चोरी गरेको भन्ने उजुरी बढेपछि त्यसतर्फ केन्द्रित भएका छौं। एउटा व्यक्तिको नाम कुखुरे रहेछ। उसले बनाएको टोली भएर कुखुरे राखिएछ,' एसपी कोइरालाले भने।
उनका अनुसार कोही नभएको अवस्थामा उनीहरूले घर/घरमा दिउँसै चोरी गर्थे।
गत बिहीबार टोखा नगरपालिका-८ स्थित सुरेश शाहीको घरमा कोही नभएको बेलामा उनीहरू पसेर ४० इन्चको टिभीसहित १३ लाख ६१ हजार बराबरको गरगहना चोरी गरेका थिए।
प्रहरीले सो घटनामा कुखुरे समूहको संलग्नता रहेको थाहा पाएपछि उनीहरूको खोजी गरी पक्राउ गरेको हो।
उनीहरूबाट प्रहरीले चार वटा मोबाइल, एलइडी टिभी र तीन तोला ३० लाख सुनको गहना बरामद गरेको छ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त महाराजगन्जमा बुझाएको छ।