भक्तपुरको बिस्काः जात्रा रोक्ने सरकारी निर्णय फिर्ता लिन र स्वास्थ्य मापदण्ड अपनाउँदै सांस्कृतिक जात्रापर्वलाई निरन्तरता दिन सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले माग गरेको छ।
समितिले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय जनसमुदायको भावनाविपरीत उक्त निर्णय गरिएकोमा खेद व्यक्त गरेको छ।
‘सांस्कृतिक जात्रापर्व र परम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरूको हुने गरेको छ र हुनुपर्छ,’ अध्यक्ष निलकाजी नीलकाजी शाक्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।
‘स्वास्थ्य मापदण्ड पालना गर्ने/गराउने र अन्य वैकल्पिक उपाय रहेको अवस्थामा पनि जात्रापर्व र परम्परालाई निरन्तरता दिनुपर्ने सरोकारवालाले उल्टै जनसमुदायको भावनाविपरीत गरेको निर्णयप्रति यस व्यवस्थापन समिति खेद व्यक्त गर्न चाहन्छ।’
भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार बसेको बैठकले कोरोना महामारीको कारण देखाउँदै बिस्काः जात्रा रोक्ने निर्णय गरेको थियो।
जात्रासँग सम्बन्धित गुठियार र स्थानीयहरूले उक्त निर्णयको विरोध गर्दै आएका छन्। उनीहरूले धिमे र भुस्या बजाउँदै सोमबार विरोध प्रदर्शन गरेका थिए।
प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसमेतको उक्त बैठकमा बिस्काः जात्रासँग सम्बन्धित गुठियार भने एक जना पनि थिएनन्।
सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको रथयात्रा यसपालि गर्ने निर्णय गरिसकेको छ। रथयात्रा आउँदो वैशाख ७ बाट सुरू भई एक साता चल्नेछ।