गोरखाको बारपाकमा यात्रुबहाक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सात जना घाइते छन्।
ना ५ च ३२९८ नम्बरको जिप दुर्घटनामा परेर लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको हो। अन्य घाइतेहरू पनि सोही विद्यालयका शिक्षक हुन्।
बारपाक घुमेर फर्कंदै गर्दा उक्त जिप शनिबार दुर्घटनामा परेको थियो। सडकबाट खसेको जिप करिब ५० मिटर तल दरौंदी नदी किनारमा पुगेको छ।
दुर्घटनामा परेर उक्त विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो। अस्पतालले गए राति उनीहरूलाई मृत घोषणा गरेको छ।
यस्तै चालकसहित दुर्घटनामा सात जना घाइते छन्।
गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार अनिल मरहठ्ठा, विष्णु दवाडी, १८ वर्षका अमृत दवाडी, विष्णु न्यौपाने, २९ वर्षका अमृत दवाडी, सुशील नराल र चालक सन्तोष तामाङ घाइते छन्।
उनीहरूको गोरखा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना कसरी भयो भन्ने खुलेको छैन।