बर्दिया प्रहरीले ‘नो ड्रग्स’ अभियान सुरू गरेको दोस्रो साता १४ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये एक जनालाई सुधार केन्द्र पठाइएको र दुई जनालाई कानुनी कारबाही थालिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
अन्य ११ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको कार्कीले बताए।
बर्दिया प्रहरीले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि दुई सातायता अभियान चलाइरहेको छ।
त्यसमा विद्यालय र सार्वजनिक स्थानहरूलाई प्राथमिकतामा राखिएको छ। हालसम्म १५ वटा प्रवर्द्धनात्मक जनचेतनामूलक कार्यक्रम गरिएको कार्कीले बताए।
जसमा २५०० बढी सर्वसाधारणहरू लाभान्वित भएको र यस प्रकारका गतिविधिहरूलाई विभिन्न निकायहरूसँग समन्वय गरी जारी राखिएको उनले बताए।
कलिलो उमेरमै लागुऔषध प्रयोगमा संलग्न भएको पाइएकाले उनीहरूको भविष्यको लागि यस्तो अभियान चलाइएको कार्कीको भनाइ छ। त्यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा हरेक स्कुल, वडा र समाजमा गएर बालबालिका तथा वयश्कहरूमा सचेतना जगाउने काम भइरहेको छ।
‘दैनिकजसो हामी १० वटा ठाउँमा गएर पढाउने र सचेतना फैलाउने काम गरिरहेका छौं,’ प्रहरी उपरीक्षक कार्कीले भने।
अभियानमा अपरेसन चलाउने र लागुऔषध भेटिँदा पक्राउ गर्ने गरिएको छ।