मोरङको रंगेली नगरपालिका ८ साझा टोलका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन्।
उनी २०३८ सालदेखि कार्यालय सहयोगी पदमा काम गर्दे आईरहेका छन्। तर पछिल्लो समय उनी सरकारी निकायको कमजोरीले समस्यामा परेका छन्।
निजामति किताबखानामा जन्ममिति फरक पर्दा उनी थप समस्यामा परेका हुन्। उनको नागरिक लगानी कोष, रंगेली अस्पताल र निजामति किताबखानाको अभिलेखमा जन्ममिति २०२० असार ३० गते छ। तर नागरिकतामा उनको जन्ममिति २०३५ असार ३० गते १८ वर्ष पुरा भएको उल्लेख छ।
नागरिकताको मिति अनुसार उनी २०१७ सालमा जन्मिएको ठहर्छ। सोही अनुसार २०७५ साल असार ३० गते नै सेवा निवृत भइसक्नुपर्ने हो। तर, बस्नेत अवकास हुनुपर्ने मितिभन्दा २९ महिना पछिसम्म सरकारी सेवा सुविधा लिएर जागिर खाइराखेका थिए।
अहिले आफूले खाएको ३३ महिनाको तलब भत्ता र २ वर्षको दसैं खर्च राज्यलाई फर्काउनुपर्ने भएपछि चिन्तित बनेका हुन्।
नागरिक लगानी कोष, निमामति किताबखाना र रङ्गेली अस्पतालले जारी गरेको परिचयपत्रमा भएको जन्ममितिका आधारमा आफूले काम गरिरहेको बस्नेतले बताए।
२०७२ साउन ६ गते रङ्गेली अस्पतालका मेसु डाक्टर विधान चन्द्र झाले निजामति किताबखानालाई बस्नेतको अनिवार्य अवकासका विषयमा पत्राचारसमेत गरेका थिए। तर ५ वर्ष अघि पठाएको पत्रको जवाफ नआएपछि बस्नेतले अस्पतालमा नियमित काम गरिरहे। तलब भत्ता र अन्य सेवा सुविधा लिइरहे।
यसैबीच २०७७ चैत १० गते निजामति किताबखानाले रङ्गेली अस्पतालका लाममा पत्र पठाउँदै निजामति सेवा नियमावली २०५० को बाह्रौं संशोधनको नियम १२९ क (४) अनुसार २०७५ असार ३० गतेदेखि हालसम्म बस्नेतले उपभोग गरेको तलब भत्ता, बिमा थप, चाडपर्व खर्च, पोशाक भत्ता, कर्मचारी सञ्चय कोष थप, महँगी भत्ता, स्थानीय विशेष भत्ताका सुबिधाहरू यकिन गरी हुन आउने रकम नगदै सरकारी कोषमा जम्मा गरी भौचर पठाउन भनेको छ।
उनले मासिक तलब मात्र ३४ हजार ३७५ बुझ्दै आएका छन्। यसरी तलब र सबै सुबिधाको रकम बुझाउँदा करिब ११ लाख रूपैयाँ हुन्छ।
अनिवार्य अबकासको पत्र पठाउँदा पनि निजामति किताबखानाले जवाफ नपठाएकोले आफू नियमित काम गर्दे आएको बस्नेतले बताए।
रंगेली नगरपालिकाका लेखा अधिकृत रूपा सुनुवारले निजामति किताबखानाको गल्तीले समस्या सिर्जना भएको बताईन्। यद्यपी सरकारी कोषबाट तलब खाने जुनसुकै कर्मचारीले आफ्नो अवकासका विषयमा जानकारी राख्नुपर्ने उनको भनाई छ। ‘हामीले अस्पतालमा भएका स्थायी कर्मचारीलाई बिभागबाट पठाएको तलब खुवाउने मात्र हो। हामीलाई कर्मचारीको विस्तृत विवरण थाहा हुन्न’, उनले भनिन्।