बाल यौन दुराचार गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार एक अमेरिकी नागरिकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
पक्राउ पर्नेमा अमेरिकाको क्यालिफोर्नियाका ६६ वर्षीय माइकल नोरम्यान टेलर छन्। उनलाई ब्युरोको टोलीले पोखरा महानगरपालिका-१८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको हो।
उनले अमेरिका रहँदा नै बाल यौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकाहरूसँग नियमित सम्पर्क गर्ने गरेको भन्ने प्रहरीले सूचना पाएको थियो।
सोही सूचनाको आधारमा ब्युरोबाट खटिएको टोलीले निरन्तर निगरानीमा राखेर उनलाई पक्राउ गरेको एसपी पन्तले बताइन्।
उनी नेपालमा तीन पटक आइसकेका छन्। सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको ब्युरोले जनाएको छ।
सन् २०१९ मा मात्रै उनले तीन जना बालबालिकाहरूलाई बाल यौन दुराचार गरेको भन्ने जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
एसपी पन्तका अनुसार माइकलले बाल यौन दुराचारको नियतले अमेरिकाबाट नै नेपालका बालबालिकाहरूसँग सम्पर्क गर्थे।
गत मार्च २१ गते पनि बाल यौन दुराचारको मनसाय राखेर पुन: नेपाल आई पोखरा गएको देखिएको ब्युरोले जनाएको छ।
'उसको नेपाल आउने उद्देश्य नै त्यही देखियो। सन् २०१९ मै गरेको भन्ने उजुरी थियो,' एसपी पन्तले भनिन्,'अस्ति फेरि नेपाल आएको थाहा पाएपछि हामीले उसलाई फलो गर्दै पक्राउ गरेका हौं।'
अमेरिकामा भने उनी वकिलको रूपमा काम गर्ने गरेको उनले बताइन्।
‘अमेरिकामा वकिल हो भन्ने बुझिएको छ। उमेरको हिसाबले करिब करिब रिटायर्ड भइसकेको जस्तो हो’, उनले भनिन्।
उनीबाट ब्युरोले ४ हजार ६ सय अमेरिकी डलर, एक थान ल्यापटप, आइफोन दुइटा, पेनड्राइभ र पासपोर्ट बरामद गरेको छ।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ।