भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोगस्वरूप दिएको छ।
उक्त भ्याक्सिन मंगलबार एक कार्यक्रमबीच जंगी अड्डामा हस्तान्तरण गरिएको छ।
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् उक्त भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए।
त्यसपश्चात् नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले थापालाई भ्याक्सिन हस्तान्तरण गरेका थिए।
भिडिओ कन्फरेन्समा नरवणेले मित्र राष्ट्रहरूलाई महामारीको समयमा सहयोग गर्ने सरकारको नीतिअनुसार भ्याक्सिन सहयोग गर्दा खुसी लागेको बताएका थिए।
प्रत्युत्तरमा प्रधानसेनापति थापाले धन्यवाद ज्ञापन गर्दै प्राथमिकताका आधारमा सेनाका सकलदर्जा लाभान्वित हुने बताए।
उनले सहयोगबाट दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ प्रगाढ भएको बताए।