महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्।
पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरालगायत सामग्री फेला परेको थियो।
प्रहरी उपरीक्षक दिनेश आचार्यले पक्राउ परेकाहरूलाई थप अनुसन्धान गरिरहेको बताएका छन्। हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ।
फागुन १० गते रातिदेखि वेपत्ता पारिएका सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको करिब एक महिनापछि गत बिहीबार पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा शव फेला परेको थियो।
यसअघि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर थिए।