दाङको घोराहीमा शिकार खेल्न गएका दुईमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले सेतोपाटीलाई बताए।
एसपी चन्दका अनुसार घटना वडा नं. १२ मा शुक्रबार राति भएको भन्ने खबर प्राप्त भएको बताए।
‘घटनास्थल पुग्न तीन घन्टा जति पैदल हिँड्नुपर्ने अवस्था छ,’ एसपी चन्दले भने, ‘घटनाबारे जानकारी पाएलगत्तै प्रहरी त्यसतर्फ पठाइसकिएको छ।’
घटनास्थल क्षेत्रमा फोन समेत राम्रोसँग सम्पर्क हुन नसक्ने हुँदा थप विवरण आउन बाँकी नै रहेको एसपी चन्दले बताए।
‘गोली चलाउने व्यक्तिलाई पनि प्रहरी पहिचान गरी नियन्त्रणमा लिइसकेको छ,’ एसपी चन्दले भने, ‘तर, त्यसबारे अनुसन्धान हुन र थप विवरण आउन बाँकी छ।’
मृतकको शव पोष्टमार्टमको लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।