सप्तरी प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार गरी फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।
बालिका बलात्कार गरेको मुद्दामा दोषी ठहर भई १३ वर्षदेखि फरार रहेका जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-३ बस्ने ३५ वर्षीय सेभु भनिने श्याम मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
प्रहरी चौकी बरसाइनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डिएसपी काफ्लेले बताए।
२०६४ साल असोज ९ गते साविकको बरसाइन गाविस–४ की १० वर्षीया एक बालिकालाई बलात्कार गरी मुखिया फरार थिए।
२०७५ असार ५ गते सप्तरी जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
मुखियालाई आजै अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार पठाइएको डिएसपी काफ्लेले बताए।