पर्सामा मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला संकट व्यवस्थापन केन्द्रको सम्पन्न बैठकमा पर्सा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले मास्क नलगाई हिँडडुल तथा अटेर गर्नेलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय गरिएको हो।
बैठकले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि नारायणी अस्पताल, पोखरीया अस्पताल, जिल्लाको बगही, बागेश्वरी तथा भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने निर्णय समेत गरेको हो।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि खुला सीमाका कारण त्यसको प्रभाव पर्साको विभिन्न स्थानमा पर्ने जोखिम रहेकोले समयमै नियन्त्रणका लागि आवश्यक पहल गर्न अस्पतालको व्यवस्था गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए।
बैठकले नारायणी अस्पतालमा तत्काल १५ शैयाको कोभिड अस्पताल सञ्चालन गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा शंकास्पद बिरामीको चेकिङ तथा कोरोना परीक्षणको दर बढाउने, आवश्यक पिसिआर परीक्षणका लागि नारायणी अस्पतालले व्यवस्था गर्ने, जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य संस्थामा कोभिड महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा बस्न समेत निर्देशन दिएको छ।