कैलालीको लम्कीमा मृतकका आफन्तले बन्द गरेको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ।
मंगलबार बिहान लम्कीचुहा-१ मा टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँकी २२ वर्षीया कमला देवकोटा बुढाको मृत्यु भएको थियो।
घटनापछि मृतकका आफन्तले शव नउठाई प्रदर्शन गरेका थिए भने दिनभर राजमार्ग अवरूद्ध पारेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत थापाले सामान्य बल प्रयोग गरी राजमार्ग खुलाइएको बताए।
प्रदर्शनका क्रममा मृतकको शव बोकी इलाका प्रहरी चौकी मोतीपुर पुगेका स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोली लागेर घाइते भएका दुई जनालाई नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको इन्स्पेक्टर थापाले बताए।
घाइते हुनेमा २७ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्ज्याल रहेका छन्।
बस चालक बर्दगोरिया गाउँपालिका-१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकका आफन्त शव बुझ्न तयार भएका छैनन्। शव प्रहरीले नै उठाएर टीकापुर अस्पताल पुर्याएको छ।