केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी दुई जनालाई पक्राउ गरेको छ।
सिआइबीले धनकुटा घर भई ललितपुर महानगरपालिका-२६ सुनाकोठीका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ का ५८ वर्षीय लाक्पा लामालाई पक्राउ गरेको हो।
सिआइबीकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार उनीहरू दुबै जना बैंकिङ कसूरका फरार प्रतिवादी हुन्।
उच्च अदालतले गत माघ ९ गते महेन्द्रनारायण श्रेष्ठविरूद्ध २० लाख जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो। सजाय बेरुजू रही फरार रहेका उनलाई बुधबार ललितपुरबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ।
त्यस्तै, लाक्पा लामाविरूद्ध उच्च अदालतले गत माघ ५ गते १० लाख ४५ हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो।
सजाय सुनाएदेखि फरार रहेका उनलाई प्रहरीले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।