शैक्षिक अभियानका लागि आर्थिक संकलन गर्न एकल साइकल यात्रामा निस्केका साइकलयात्री एवं वातावरणविद् देवेन्द्र बस्न्यात यात्राको छैंटौं दिन बिहीबार वुटवलबाट दाङतर्फ प्रस्थान गरेका छन्।
दोलखादेखि दिपायलसम्म करिब १२ सय किलोमिटर यात्रामा निस्केका उनी बुधबार साँझ चितवनबाट वुटवल आइपुगेका हुन्।
दोलखाको राजकुलेश्वर विद्यालय र डडेलधुराको बहादुर खडक स्मृति पुस्तकालय भवन निर्माणका लागि कम्तिमा २२ लाख रुपैयाँ सहयोग जुटाउन ‘पेडल फर एडुकेसन’ नाराका साथ उनी यात्रामा निस्केका हुन्।
आज साँझ उनी लालमटियामा बास बस्नेछन्।
उनी दोलखाबाट धुलिखेल, काठमाडौं, मकवानपुर, चितवनहुँदै यात्राको पाँचौ दिन वुटवल आइपुगेका हुन्। यस बीचमा उनले करिब ५०० किलोमिटर दूरी तय गरिसकेका छन् ।
हेल्प नेपाल नेटवर्कको आयोजनामा गरिएको साइकल यात्रामा धेरैको साथ र सहयोग पाएको बस्न्यातले सेतोपाटीलाई बताए। ‘राम्रो सहयोग जुटिरहेको छ। लक्ष्य पुरा हुनेमा विश्वस्त छु।’
यात्रामा ठाउँठाउँमा उनको स्वागत तथा विदाई भइरहेको छ। वुटवलमा रोटरी क्लब अफ सेन्ट्रलले स्वागत तथा विदाई गरेको थियो।
यसअघि बुधबार बिहान चितवनको नारायणगढ बजारमा रोटरी क्लब र चितवन साइकल राइडर्स क्लबका पदाधिकारीले स्वागत तथा विदाई गरेका थिए। साथै दिउँसो लायन्स क्लवले कावासोतीमा, वनकट्टामा साइकल यात्री राम थापाले, वुटवलमा रूपन्देही जिल्ला साइकल संघ र वुटवल बाइक स्टेशन लगायतले स्वागत गरेका थिए।
फागुन २८ गते सत्यमोहन जोशीबाट आशिर्वाद लिँदै फागुन २९ गते दोलखा बजारबाट एक्लै साइकल यात्रामा निस्किएका बस्न्यातले डोटीको दिपायलसम्म साइकल कुदाउनेछन्।