शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका छन्।
मंगलबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए।
कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिनेगरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए।
समयमै पुस्तक छापेर पहिले दुर्गम ठाउँहरूमा पुर्याउन पनि उनले निर्देशन दिए।
उनले भने,‘यसले पुस्तक नै विद्यालयमा विद्यार्थीलाई समयमा दिन सकेन भन्ने ढंगको आलोचना धेरै आउने गर्छ। अब यो आलोचना विगतमा जे जस्तो आयो। विगतको मैले 'पास्ट इज पास्ट' भनिसकेको छु। वर्तमानमा म यो कमेन्ट सुन्न चाहन्न। त्यसको लागि तपाईंहरूलाई के अप्ठ्यारो छ ? पाठ्यक्रमबाट तपाईंहरूलाई सामग्री नआएको हो भने किन ढिला भएको छ तत्काल तपाईंहरू आफैं पनि पहल गर्नुस्। कुनै पनि पुस्तक छपाइ टाइममा छाप्ने र काठमाडौंमा बसेर त्यो जुम्लाको विकट गाउँको स्कुल सम्झनू। यहाँ त सजिलै पाउनुहोला। सबभन्दा पहिला दुर्गम ठाउँमा किताबहरू सप्लाइ हुनुपर्यो। अब नयाँ शैक्षिक सत्र असारदेखि सुरू हुँदैछ। १ कक्षादेखि १२ कक्षासम्मको पुस्तक प्रकाशन तपाईंहरूले गर्नैपर्छ। प्रकाशित पुस्तकहरू समयमै त्यो ठाउँमा पुग्नैपर्छ। कहीँकतै कुनै पनि बहानामा विद्यालयका विद्यार्थीहरूले नयाँ शैक्षिक सत्र सुरू हुँदा उनीहरूको हातमा किताब नहुने स्थिति नआउने गरी किताब प्रकाशनको जिम्मा लिइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै विद्यार्थीको हातहातमा उनीहरूको पुस्तक पुगोस् भन्ने आग्रह गर्न चाहन्छु।’
अब नयाँ शैक्षिक सत्र असारदेखि सुरू हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ कक्षासम्मको पुस्तक प्रकाशन गर्नको लागि निर्देशन दिएका हुन्। त्यसैगरी जनक शिक्षा सामग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताए।
कुनै पनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरे।
उनले भने,‘सबै हामीले अहिले हेरेका मेसिनहरूमध्ये निर्वाचन आयोगबाट प्राप्त गरेको मतपत्र छाप्नलाई राखिएको मेसिन त्यसलाई रेडी पोजिसनमा राख्नुस्। निर्वाचन आयोगले आदेश दिन बित्तिकै खररररर मतपत्र छापिने गरेर तयारीमा रहनुस्। कुनै पनि बेला तपाईंहरूलाई यो आदेश आउनेछ।’
मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताए।