बारा प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा १४ वर्षपछि एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ बस्ने ४६ वर्षीय जगदिश दास छन्।
दासमाथि २०६३ साल मंसिर २१ गते साँझ करैया पुलमा काठमाडौंबाट आएको बा २ ख ६४१ नम्बरको यात्रुबाहक बस रोकेर बसधनीको अपहरण गरेको आरोप छ। ती बसधनीलाई दासले भारतमा लगेर बेच्न समेत खोजेको बारा प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार दाससहित केही व्यक्तिहरूले कटुवा बन्दुक देखाएर खोटाङ दिक्तेल–२ घर भइ भक्तपुर मध्यपुरथिमी नगरपालिका–१५ बस्ने ताराकुमार खत्रीको अपहरण गरेका थिए।
अपहरण गरी नगद मोबाइल तथा घडीहरू समेत लुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
खत्रीलाई अपहरण गरी उनको घरमा फिरौतीसमेत मागेको र नदिएमा भारतमा बेच्ने योजना बनाएको मिश्रले बताए। तर खत्री भागेका थिए।
दास विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरेको कार्यालयले जनाएको छ।